Thursday, June 29, 2023

सस्मरण भान्जी फूपू

 त्यो बेला छोरीहरूलाई पढाउने चलन कमै थियो तर पनि बाले सबै दिदीलाई स्कुल भर्ना गरिदिनु भएको थियो, बिबिध कारणले दिदीहरुको पढाइ बिचैमा रोकियो, दिदीहरु स्कुल न जाने भए पछि म पनि एक्लै स्कुल न जाने भएँ, छोरीले न पढे पनि छोराले भने पढनै पर्ने, तेसमा पनि तीन दिदी मुनिको म एक्लो छोरो, न पढेर बिग्रिने देखेपछि बा ले मलाई स्यालापानी फुपूको घरमा बसेर रामपुर स्कुलमा पढ्ने ब्यवस्था मिलाउनु भयो, स्यालापानी फुपूका चार भाइ छोरा मध्ये जेठा बामदेव, माइला श्रीधर, साइला बलदेव र कान्छा रमानाथ हुनुहुन्थ्यो, अहिले जेठा र कान्छा हुनुहुन्न बितिसक्नुभयो, फुपू बितेको त झन धेरै भै सक्यो, 

 


स्यालापानी फुपू अर्थात हाम्रो बाजेकी एक मात्र भान्जी अर्थात बा की भान्जीदिदी जो निकै सरल नरम मृदुभाषी हुनुहुन्थ्यो, सबैलाई माया गर्ने निकै मायालु स्वोभावकी, जस्ले गर्दा आठ नौ वर्षको उमेरमा बा आमाको काख छोडेर अपरिचित ठाउँमा बस्न मलाई कुनै असुविधा र असहज  महसुस भएन,

ठुलो दाइ मालमा काम गर्नुहुन्थ्यो, माइलो दाइ औलो उन्मुलनको लागि गाउँ गाउँमा डिडिटी छर्कने कामको भिजिटर पदमा कार्यरत हुनुहुन्थ्यो, कुन कुन घरमा औषधि छरियो, तेसको लेखा राख्ने औषधि छरेको घरको भित्तामा गेरु रङले घर नम्बर लेख्ने गर्नुहुन्थ्यो, साइलो दाइ भर्खर पढाइ सकेर गोग्ली स्कुलको टिचर हुनुभएको थियो, कान्छो दाइ रामपुर स्कुलमा कक्षा ५ मा पढदै हुनुहुन्थ्यो, म कान्छो दाइ संग पढ्न रामपुर स्कुल जाने गर्थें, बर्खाको समयमा बालिमखोलामा भल आउने, भलको धमिलो पानीमा उभिदा आँखा रिङाएर आफू सररर खोलाको माथी तिर गएको भान हुने, केहिबेर तेसो गर्दा मजा आउने, बालापन न हो रमाइलो गर्न सानै कुरा भए पुग्ने,

 त्यो बेला रामपुर पढाउने गुरु मध्ये निमुरियाका मेरा ठुली आमाका छोरा दाइ रामकुमार घिमिरे र अर्का अली बुढा सेतो धोती लगाउने अलि होचा मोटा, सुनपुरका दामोदर गुरु बाहेक अरु कसैको सम्झना छैन,

  शुक्रबारको हाफ बिदा पछि रामपुर स्कुलबाट बेलहरी घरको लागि सोझै हानिन्थ्ये, २० किलोमिटरको बाटो सुस्त हिडे पुग्न गाह्रो, तेसैले कहिले तर्कदै कहिले दौडदै जसो तसो झमक्क साँझ पर्दा घर पुग्थे, अर्को दिन सनिवार डेढ दुई बजे सम्म मात्र हो घर बस्ने, आइतबारको क्लास बेलहरी बाट भ्याउने कुरै भएन, तेसैले जसरी पनि सनिवार साँझ सम्म स्यालापानी पुग्ने गरि हिड्नै पर्थ्यो, 

 एक पल्टको सनिवार बेलहरी बाट स्यालापनिको लागि हिडेको, कपासी आईपुग्दा अलि अबेला भै सकेको थियो, त्यो बेला कपासीमा ठुला ठुला आपका रुख थिए तिनै रुख मध्ये सबैभन्दा दक्षिणको रुख मुनी तिनचार जना केटा कसैको प्रतीक्षामा बसेका रहेछ्न, उनिहरुले मलाई त्यहाँ बोलाए, अनि सोधपुछ गर्न थाले, म दुइमा पढ्ने ८ वर्षे बालक, उनिहरुले जे जे सोधे सबै भनिदिए, अर्थात मेरो घर बेलहरी हो, पहिले नारायणपुर स्कुलमा पढथे मेरो मामाको नाम नेत्रलाल आदि यस्तै यस्तै, मेरो उत्तरले उनीहरुलाई किन हो आक्रोसित बनायो, त्यो बेला थाहा भएन, मेरो पुस्तक खोसेर लिए, म रुन थाले, उनिहरुले मलाई सम्झाउदै नारायणपुर र रामपुरमा पढ्नु हदैन, भरतपुर स्कुलमा पढ्नुपर्छ, भरतपुर स्कुलमा पढे राम्रो मान्छे भइन्छ, रामपुर नारायणपुर पढ्ने चोर डाका हुन्छ्न भन्दै सम्झाए, उनीहरुको अपसी कुराकानीबाट कसैलाई पिट्नको लागि बाटो ढुकेर बसेको आभास हुन्थ्यो, पैन्टको अगाडि कम्मरमा चाकु पनि थियो, कहिले निकाल्ने कहिले राख्ने गर्थें, त्यो देखेर म हाएल काएल थिएँ, अहिले सम्झन्छु त्यो बेला रामपुर र नारायणपुर स्कुल कम्निस्टको र भरतपुर स्कुल काग्रेसको भनेर चिनिन्थ्यो, उनिहरुले म काङ्ग्रेस बनु भन्ने आसयले मलाई भरतपुर स्कुलमा पढ्न दवाव दिएका रहेछ्न, अध्यारो हुनै लागेको थियो, पुग्नुपर्ने दुरी अझै आधा बाकी थियो, म अत्तालिएर रुन थालेपछि मेरो पुस्तकको झोला फर्काउदै  "कसैले सोधे नेत्रलालको भन्जा हु न भन्नू ,  ...... शाहको भान्जा हु भन्नू, कसैले केही गर्दैनन"  भनी छोडिदिए, म त्यो दिन रातको ८ बजे तिर स्यालापानी पुगेको थिएँ, जुनेली रात भएकोले बाटोमा अफ्ट्यारो त भएन, स्यालापानी आइपुग्ने बेला अलि अलि भुतको डर भने लागेको थियो,

 आज फुपुको यो फोटो राख्दै गर्दा त्यो बेलाको धेरै कुरा याद आयो अनि थोरै आफ्ना कुरा सबैको माझ पस्कन मन लाग्यो, 

 प्यारी फुपू लाई हार्दिक सम्झना 🌺🌺🌺

No comments:

Post a Comment