Monday, May 27, 2024

मेरा बाको पहिलो फोटो

मेरा बा चिन्तामणी, बाजे चुडामणि र बोई खिमा देवीका चार सन्तान मध्येका कान्छा सन्तान हुनुहुन्थ्यो, बाको जन्म विक्रम सम्वत १९८९ साल कार्तिक २७ गते भएको थियोे। बाको मामाघर कपिलवस्तु तौलिहवा थियो, बोइ आफ्नो माइतीघर तौलिहवा गएको बेला बा काखे छोरा भएकोले बोइ सङ्गै मामाघर जानुभएको थियो, त्यो बेला कपिलवस्तु जाने सजिलो बाटो कोइलाबास हुँदै भारतको जरुवा रेल स्टेशन बाट रेल चढी जानुआउनु पर्थ्यो, त्यो बेला माइती टाढा हुनेहरू जाउ आउ गर्न अलि कठिनाइ हुने भएकोले माइती बस्न गएका बेला दुई तीन महिना उतै वस्ने गर्थे, तीन महिनाको बसाइँ पछि बाजे बोईलाई लिन तौलिहवा जानुभयो, त्यो बेला कोइलाबासको खोलाको बाटोमा दरबाजा भन्ने ठाउँ थियोे, खोलाको बीचमा ठुलो ढुङ्गा भएकोले आवतजावत गर्न त्यो ढुङ्गालाई बिचबाट काटेर ढोका जस्तो बनाइएकोले त्यो ठाउँलाई दरबाजा भनिन्थ्यो, दरबाजा सङ्गै ठुलो रह थियोे, रह पारगर्न दरबाजा बाट रहमाथी हुँदै काठको लाप्सो हालिएको थियो, तेसै लाप्सो बाट खोलाको बाटो वारपार गर्नु पर्थ्यो, तौलिहवाबाट फर्किदा लाप्सो पार गर्नु अघि बोईलाई पिसाब लागेकोले तपाईंहरु जाँदै गर्नु म आउछु भनी एसो कुनातिर ओत लाग्नु भयो, बाजेहरु दरबाजा पारगरेर बोईलाई पर्खन एउटा रुखको छाहारीमा बस्नु भयो, धेरै बेर हुँदा पनि बोई न आएकोले बोईलाई खोज्न जताबाट आएकोहो उतै फर्कनु भयो, दुबै तिर पहाड बिचमा कोइलाबास खोला भएकोले दायाँबायाँ जाने ठाउनै थिएन, तेसैले कोइलाबास सम्म खोज्न जादा पनि फेला न परेपछि पुनः दरबाजा तिरै फर्कनुभयो, फर्केर आउँदा दर्बाजाको रहमा बोइको रातो पछ्यौरी तैरिरहेको देखेपछि साथै आएका भरियाले रहमा पसेर खोज्दा बोईलाई मृत अवस्थामा फेला पारे, बोईको तेहि दाहसंस्कार गरि बाजे टुहुरो छोरालाई लिएर दाङ आउनु भयो, बोई बितेको केही समय पछि बाजेले दोस्रो बिहे गर्नुभयो, यो बेला सम्म हाम्रा सबै ठुलाबाहरुले बिहे गरिसक्नु भएको थियो, केही समय पछि कान्छी बोईको गर्भरहेको ठुलाबाहरुले थाहा पाउनुभयो, अब छोरा जन्यो भने सम्पत्तिमा भागलाग्छ भन्ने सोचेर बच्चा जन्मनु अगावै ठुलाबाहरु छुट्टीनु भयो,त्यो बेला हाम्रो जमिन धेरै ठाउँमा थियो, तर बसाइँ भने बिजौरी हाडिमेमै हुन्थ्यो, ठुलाबाहरु छुट्टीदा बाजेलाई बेलहरीको मौजा दिइयो,बा सानै भएकोले बाजे र कान्छीबोई सङ्गै बा पनि बेलहरीमा बस्न थाल्नुभयो, बोईलेनै बा को बिहे धर्ना मोहनलाल पौडेलकि छोरी,अर्थात नेत्रलाल अभागीकि काइली दिदी गङ्गादेवीसङ्ग गरिदिनुभयो, बा लाई इन्डिया घुम्ने रहर लागेर बिहे भएकै वर्ष घरकालाई थाहै नदिई एक महिना बरालिनु भयो, त्यो बेला इन्डियाको नैनिताल, लखनउ घुमेको बाले सुनाउनु हुन्थ्यो, यो तस्वीर त्यसै बेला अर्थात विक्रम सम्वत २००५ सालमा लखनौमा खिचेको हो, त्यो बेला रङ्गिन तस्वीर खिच्ने क्यामेरा आईसकेको थिएन, यो तस्वीर र यसै सङ्ग खिचेका ६ पिस B/W पासपोर्ट साइज भन्दा अलि ठुला साइजका फोटोहरु थिए, यिनै साना फोटो बाट ठूलो फोटो बनाउन म भुमिगत भएको बेला विक्रम सम्वत २०३७ सालमा तुल्सिपुर मोतिपुर बस्ने मेरो फुपाजु नारायण आचार्य लाई दिएको थिए, वहाँले काठमाडौ न्यूरोड स्थित Photo Concern बाट ठूलो फोटो बनाएर ल्याइदिनुभएको थियो, यो र अरु सबै फोटो हराईसकेका थिए, आज च्यात्तिएको अवस्थामा यो फोटो प्राप्त भयो, यसलाई पुनः रिपियर गरेर कलर समेत गरि संरक्षण गर्न सकेकोमा निकै खुसी लागेको छ ।

No comments:

Post a Comment